एक सर्को माया

म काम गरिरहेको थिएँ । अचानक इस्माइल मेरो क्याबिनमा पसे, मैले आफ्नो कुर्सीबाट उठ्दै भने— “गुड मर्निङ सर, कहिले आउनुभयो ?”
“मर्निङ आलोक, म हिजो राति फर्किएको ।”
“अनि कस्तो रह्यो त सरको ट्रिप ?”
“यो ट्रिप सफल रह्यो, अनि तिम्रो रिसोर्ट भिजिटको प्लान के हुँदैछ ?”
“भोलि र बिहीबारको प्लान तय भएको छ सर ।”
“कुन एरिया कभर गर्ने विचार ग¥यौ ?”
“बा एटोलको भिजिट तय गरेको छु ।”
“गुड, अल द बेस्ट ।”
“थ्याङ्क यू सर ।”
त्यही रात रक्बोमा धुवाँ उडाइरहेको बेलामा अहमदले भन्यो— “म भोलि आउँदिन है, गर्लफ्रेन्डको बर्थ डे छ ।”
चालिसे दाइले सोधे— “कुन गर्लफ्रेन्डको ?”
अहमदले हाँस्दै भन्यो— “दोस्रोवालीको हो यार !”
अहमदको कुरा सुनेर मैले भनेँ— “दुईवटा गर्लफ्रेन्ड झुलाइरहेको हो ?”
अहमदले भन्यो— “होइन यार !”
“अनि दोस्रोवालीको मतलब के त ?”
उसले हाँस्दै भन्यो— “तीनवटी छन् यार ।”
अहमद जोडले हाँस्न थाल्यो, चालिसे दाइ पनि हाँस्न थाले । म भने ट्वाँ परिरहेँ । आफ्नो त एउटा पनि छैन । दाइले मलाई हेर्दै भने— “भाइ तपाईं छक्क नपर्नुस्, यिनीहरूका लागि यो अनौठो होइन ।”
अहमदले छेउमा राखिएको प्लास्टिकबाट तीनवटा मार्स चक्लेट निकालेर एक–एकवटा बाँड्यो । हामी एकछिन त्यो चक्लेटलाई मुखभित्र माथिल्लो तालुमा टाँसेर पगाल्दै त्यसबाट निस्किएको गुलियो ¥याल निल्न व्यस्त भयौँ । गुलियो खासै नरुचाउने म बिस्तारै रुचाउन थालेको थिएँ । हामी हावाको घर्षणले दिएको आनन्द लिँदै धुवाँजस्तै हलुका भएर समुद्रको छेउमा बसिरहेका थियौँ । यसरी आनन्दित हुनु बिस्तारै ठूलो दलदलमा फस्नु हो भन्ने थाहा हुँदाहुँदै पनि मलाई त्यै बाटो हिँड्न मन लागिरहेको थियो । खै के थियो त्यो धुवाँको नशाभित्र ? जसले मलाई निरन्तर तान्दै लगिरहेको थियो । चकलेटको ¥यालमा मुख मिठ्याउँदै गर्दा मलाई एक्कासि राउधाको सम्झना आयो । एकचोटि फेसबुक खोलेर हेरेँ । त्यो रात रक्बोबाट निस्कने बेलामा चालिसे दाइले तयार पारेको विशेष बाटो खर्च पनि मेरो हातमा थमाए ।
***
रिसोर्ट भिजिटको योजना मुताविक अर्काे दिन बिहान म माल्दिभियन एयरलाइन्सको डोमेस्टिक फ्लाइटबाट बा एटोलको धाराबान्धू आन्तरिक हवाई अड्डामा उत्रिएँ । बीस मिनेटको छोटो उडानपछि धाराबान्धूमा उत्रिँदै गर्दाको अनुभव र पहिलोपटक इब्राहिम नासिर एयरपोर्टमा उत्रिँदै गर्दाको अनुभव उस्तै थियो । पानीमा तैरिरहेको ठूलो कर्कलाको पातजस्तो धाराबान्धू टापुको आधा भागमा एयरपोर्ट थियो भने आधा भागमा चिटिक्क परेको सानो बस्ती थियो । बस्तीका प्रायः सबै घरहरू एकतले र जस्तापाताले छाइएका थिए । बस्तीको बीच–बीचमा ब्रेडफ्रुट र नरिवलका रूखहरू प्रशस्तै थिए ।
टापुको दक्षिणी भागमा रहेको एयरपोर्टबाट निस्किएर उत्तरतिर बस्तीलाई नियाल्दै हिँडेको पाँच मिनेटमै जेट्टी भएको किनारा आइपुग्यो । लजिस्टिक म्यानेजरले व्यवस्था मिलाइदिएको स्पिडबोट मलाई कुरिरहेको थियो । कप्पी अर्थात् बोटको क्याप्टेनलाई मैले आफ्नो भिजिट प्लानको जानकारी गराएँ । बा एटोल अन्तर्गत पर्ने टापुहरूमध्ये आठवटा टापुमा रिसोर्टहरू चलाइएका थिए । तीमध्ये मेरो चारवटा रिसोर्ट भिजिट गर्ने योजना थियो ।
म पहिले दुसित थानी रिसोर्ट गएँ । रिसोर्टको जेट्टीमा मेरो स्वागतका लागि फ्रन्ट अफिसका केही स्टाफहरू उभिइरहेका थिए । काठको फलेक बिछ्याएर बनाइएको उक्त जेट्टीमा उक्लिँदा बित्तिकै एउटी केटीले हँसिलो मुद्रामा मलाई स्वागत गरी । बीस–बाईस वर्षकी त्यो हँसिली केटीको अनुहारमा दौडिएका मेरा आँखा एकै छिनपछि उसले छातीमा टाँसेको नेमट्यागमा पुगे । उसको नाम ‘माज्दा’ रहेछ । नाम पढ्नासाथ एकाएक मलाई चालिसे दाइको लभस्टोरी याद आयो । सायद, चालिसे दाइकी माज्दा पनि बैँसमा त्यही हँसिली केटीजस्तै हँुदी हुन् !
त्यतिबेलासम्म न दाइले मलाई माज्दाको फोटो देखाएका थिए न त मैले उनलाई देखाउन भनेको थिएँ । मनमनै सोचेँ— “फर्किएपछि चाहिँ अवश्य हेर्छु ।”
छेउमा उभिएको अर्को स्टाफको हातमा रहेको ट्रेबाट रिफ्रेसिङ टावेल उठाएँ । आँखा भने जवान माज्दातिर नै केन्द्रित थिए । समुद्रको नुनिलो हावाले च्यापच्याप भएको मेरो अनुहार त्यो चिसो र सुगन्धित टावेलले पुछेपछि साँच्चै नै रिफ्रेस भएको थियो । दुसित थानीमा मेरो मिटिङ पर्चेजिङ म्यानेजर अहमद मम्धूसँग थियो ।
माज्दाले मलाई खुल्ला रिसेप्सनको एउटा सोफामा बसाएर प्रतीक्षा गर्न लगाई । एक छिनपछि मम्धू आइपुगे । मैले उठेर हात मिलाउँदै अभिवादन गरेँ । त्यही बेला मेरो मोबाइलमा ताउसिनको फोन आयो । मम्धूलाई “एक्कै छिन है” भनेर फोन उठाउँदै म थोरै पर गएँ । अफिसको जरुरी काम रहेछ । फर्केर आउँदा उनी सोफामा बसिरहेका थिए । बीचको टेबलमा वेल्कम ड्रिङ्क्स राखिएको थियो । मम्धूले मलाई उनकै अफिस लगे । लगभग एक घण्टा हाम्रो मिटिङ चल्यो । त्यसपछि म दुसित थानीबाट निस्किएर दोस्रो गन्तव्य अमिल्ला खुसी रिसोर्टतर्फ लागेँ ।
भर्खर सुरु हुँदै गरेको अमिल्ला रिसोर्टमा अस्ट्रेलियन एक्जेक्युटिभ सेफसँग अपेक्षा गरेभन्दा राम्रो मिटिङ भयो । त्यसपछि म फोर सिजन रिसोर्टतर्फ लागेँ । मिटिङ सकिएपछि त्यहाँका सेफ र मैले सँगै लन्च ग¥यौँ । उनले मलाई गल्फ कार्टमा राखेर रिसोर्टको भ्रमण पनि गराए । किनाराको पानीमा खम्बा गाडेर बनाइएका वाटरभिल्लाहरू सानदार थिए । घुमघाम सकिँदा घाम डुब्ने तर्खरमा थियो । म त्यहाँबाट बिदा भएर त्यस दिनको अन्तिम गन्तव्य रितिवीच् रिसोर्टतर्फ लागेँ ।
समुद्र केही रफ भएको थियो । मेरा प्रिय सेफ जेरौल्ड एक्स्जुकेटिभ सेफको रूपमा कार्यरत रितिवीच् रिसोर्ट पुग्न मलाई केही समय लाग्यो । दुई वर्षअघि दुबईमा गल्फुडको सिलसिलामा सेफ जेरौल्डसँग मेरो पहिलो भेट भएको थियो । त्यतिबेला पनि उनी माल्दिभ्सकै एउटा रिसोर्टमा काम गर्थे । उनले काम गर्ने रिसोर्टमा बिजनेस सुरु गर्ने हेतुले कम्पनीको तर्फबाट मैले उनीसँग डिनर गरेको थिएँ । त्यतिबेला हामीले बुर्ज खलिफाको छेउमा रहेको दुबई फाउन्टेनमा डिनर गरेका थियौँ । जेरौल्ड जर्मन भईकन पनि इटालियन खानाको सौखिन रहेछन् । बिजनेसका कुराहरू हुँदै गर्दा उनले जब म नेपाली भन्ने थाहा पाए, तब नेपाल घुमेको कुरा बताए । डिनर सकिएपछि उनलाई छोड्न बरदुबई जाँदै गर्दा उनले सोधेका थिए— “के तिमी ड्रिङ्क्स गर्छौ ?”
मैले कहिलेकाहीँ पिउँछु भनेँ । मेट्रो स्टेसननजिकै उनी बसेको एम्बासडर होटेलको छेउमा मैले कार पार्क गरेँ । त्यसको नजिकै एस्टोरिया होटलभित्र याक एन्ड यती नेपाली बार थियो । हामी त्यहाँ पुग्दा नेपालीहरू दोहोरीमा झुमिरहेका थिए । जेरौल्डलाई शान्त ठाउँमा बसेर पिउन मन लागेको रहेछ, हामी अर्कै बारमा गयौँ । एर्डिङ्गर बियर मगाएर चुस्की तान्दै गर्दा मैले सोधेँ— “सेफ, नेपाल कहिले जानुभएको थियो ?”
“अक्टोबर २००८ मा ।”
“कस्तो लाग्यो त नेपाल ?”
“सुन्दर !”
जेरौल्ड एकछिन मौन भए अनि गिलास उठाएर एकैपटकमा रित्याए । उनले दोस्रो राउन्डको बियरको एक चुस्की लिएपछि भने— “आलोक, तिमीले नेपालको कुरा निकालेर पुरानो स्मृति ताजा गराइदियौ । नेपालसँग मेरो जिन्दगीको महŒवपूर्ण घटना जोडिएको छ । सम्झिँदा पनि कुनै कहानीजस्तो लाग्छ ।”
“सेफ, मलाई कहानी सुन्न खुब मन पर्छ ।”
त्यसपछि जेरौल्डले मलाई आफ्नो अतीतमा लिएर गए ।
***
एक अक्टोबर २००८ मा जेरौल्डलगायत उनका अरू साथीहरू पहिलोपटक नेपालमा अवतरण हुँदै थिए । त्यतिबेला नेपालमा दशैँको चहलपहल सुरु हुन लागेको थियो । त्यो दशैँ नेपाल गणतन्त्र मुलुक घोषणा भएपछिको पहिलो दशैँ थियो । हाई स्कुलका क्लासमेटहरूको त्यो दशदिने नेपाल ट्रिप पक्कै पनि अविस्मरणीय हुन्छ भन्ने जेरौल्डलाई लाग्यो । उनका लागि सबैभन्दा खुसीको कुरा के थियो भने त्यो ट्रिपमा लुसी पनि गएकी थिइन् । लुसी पहिले जेरौल्डकी स्कुलमेट र पछि वाइफ अनि त्यसपछि एक्स वाइफ भएकी थिइन् । कुलिनरी लाइनमा आफ्नो क्यारियर बनाउन खोजिरहेका जेरौल्डलाई त्यतिबेला कामको धेरै नै प्रेसर थियो । लुसी टिचर थिइन् । एक दिन कामको तनाव बोकेर चाँडै घर फर्किएका जेरौल्ड हलमा बसेर बुन्डेसलिगा हेर्दै बियर पिइरहेका थिए । म्याच सकिएको धेरैबेर पछिसम्म पनि जेरौल्डले बियर पिउँदै टिभी हेरिरहे । टिभी को भोल्युम ठूलो भएको कम्प्लेनबाट सुरु भएको लुसीको विरोध, बिस्तारै जेरौल्डका अन्य खोटहरूमा बढ्दै जान थाल्यो । सानातिना कुराहरूलाई लिएर उनीहरूबीच भनाभन सुरु भयो र त्यो आक्रामक हुँदै गयो । बियरको नशाले धूत भइसकेका जेरौल्डले भनाभनको आवेशमा लुसीमाथि हात उठाए । लुसीको गालामा पड्किएको एकै थप्पडको गुञ्जले सारा सम्बन्धहरूलाई एकाएक मौन बनाइदियो । त्यही निहुँमा उनीहरूको डिभोर्स नै भयो ।
नेपालको ट्रिपमा जाँदै गर्दा उनीहरूको डिभोर्स भएको पनि दुई वर्ष भइसकेकोे थियो । यस बीचमा न त लुसीले अरू कसैसँग वैवाहिक सम्बन्ध गाँसेकी थिइन् न जेरौल्डले नै । जेरौल्ड लुसीलाई त्यति बेलासम्म पनि धेरै नै मन पराउँथे । लुसीको मनमा के थियो त्यो उनै जानुन् । उनी सगरमाथा हेर्नका लागि त्यो ट्रिपमा सहभागी भएकी थिइन् ।
नमस्ते होलिडेमार्फत टुर प्याकेज लिएका जेरौल्ड, लुसीलगायत तेह्रजनाको जर्मन टोलीलाई उनीहरूको टुर गाइड जेडी अर्थात् जय ढकालले त्रिभुवन विमानस्थलमा स्वागत गरे । दश दिनको टुरमा उनीहरूको काठमाडांै, चितवन, पोखरा र लुक्ला जाने प्लान थियो । पहिलो रात उनीहरूले काठमाडौँमा बिताए । जेरौल्ड लुसीसँग नजिक हुन चाहन्थे तर उपयुक्त समय मिलिरहेको थिएन । यद्यपि उनीहरूको बीचमा अनौपचारिक कुराकानी भने भइरहेकोे थियो । त्यो ट्रिपको सदुपयोग गरेर जेरौल्ड लुसीको मन जित्न चाहन्थे । जर्मनी फर्किंदा उनी लुसीलाई आफ्नो जिन्दगीमा फर्काएर लैजान चाहन्थे । दोस्रो रात उनीहरूले नगरकोटमा बिताउँदै थिए । त्यो साँझ बारमा बसेर बियर पिउँदै गर्दा जेरौल्डले झ्यालबाट बाहिर हातमा वाइनको गिलास समातेर उभिइरहेकी लुसीलाई देखे अनि हातमा बियरको गिलास समातेर उनी पनि बाहिर निस्किए । चिसो मौसम थियो, हल्का बतास पनि चल्दै थियो । जेरौल्ड वाइन पिउँदै अन्धकारमा हराइरहेकी लुसीको छेउमा पुगेर उभिए । त्यो इद उल फित्रको रात थियो तर जून भने देखिएको थिएन । जेरौल्डलाई आफ्नो छेउमा उभिएको देखेपछि लुसी थोरै पर सरिन् । अगाडिको पर्खालमा बियरको गिलास राख्दै जेरौल्डले एकपटक आफ्नो घाँटी खस्खसाए अनि आफ्ना दुई हत्केलाहरू एकआपसमा रगड्न थाले ।
“कति कालो छ यो रात !” जेरौल्डले लुसितिर एक नजर लगाएर आकाशतिर हेर्दै भने ।
“तिम्रो मनजस्तै !” लुसीको ठाडो प्रतिक्रिया आयो ।
जेरौल्डले नम्र भएर भने— “यो कालो रातमा केहीबेरपछि जुनको घेरो देखिनेछ र बिस्तारै रात उजेलो हुँदै जानेछ ।”
लुसीले वाइनको सुर्पी लगाइन्, कुनै जवाफ दिइनन् । जेरौल्डले आफ्ना कदमहरू थोरै लुसीतिर बढाए लुसी अचल रहिन् । जेरौल्डले भने— “लुसी, म तिमीसँग माफी माग्न चाहन्छ ।”
“माफी ? केका लागि जेरौल्ड ?”
“ती सबै चिजहरूका लागि, जसले तिमीलाई मबाट टाढा बनायो ।”
“ओ ! प्लिज जेरौल्ड, अब ती कुराहरूले कुनै अर्थ राख्दैनन् ।”
यत्ति भनेर लुसी होटेलभित्र छिरिन् र बारको टेबलमा गिलास राखेर आफ्नो कोठामा गइन् । त्यो रात जेरौल्ड धेरै बेर बाहिरै उभिइरहे । राति अबेर जूनको घेरो आकाशमा देखियो तर जेरौल्डको मन अँध्यारो नै भइरह्यो ।
भोलिपल्ट साँझ उनीहरू चितवन सौराहा पुगे । आठ बजेतिर डिनर गरेपछि जेडीले उनीहरूलाई थारू सांस्कृतिक कार्यक्रममा लिएर गए । जेरौल्डलगायत उनका सबै साथीहरू नाचको मज्जा उठाउन लागे । सेतो धोती र गञ्जीमा लट्ठी घुमाएर नाचिरहेका केटाहरूलाई हेरेर जेरौल्ड रमरम बियरको नशामा मनको पीडा भुलेर खुब रमाएका थिए । रोमाञ्चित हुँदै उनी नाच्न पनि पुगेका थिए । उनी नाचेको देखेर उनका केही साथीहरू पनि उठेर नाच्न थाले । नाच हेरिरहेका अरू पर्यटकहरू र स्थानीय मान्छेहरूले पनि खुब चाख मानेर हेरिरहेका थिए ।
ढोलकको तालमा जिउ हल्लाउँदै नाचिरहेका जेरौल्डको आँखा, बसेर नाच हेरिरहेकी लुसीमा प¥यो । उनी नाच्दानाच्दै रोकिएर लुसीको नजिक गए । उनले एउटा घुँडाले भुइँमा टेकेर आफ्नो दायाँ हात लुसीको अगाडि बढाउँदै नाच्नका लागि आमन्त्रण गरे । जेरौल्डले त्यसो गरिरहँदा उनका साथीहरू लगायत सबैले हुटिङ गर्दै ताली बजाए । माहोल यस्तो तयार भयो कि लुसीले इन्कार गर्नै सकिनन् । उनी आफ्नो हात जेरौल्डको हातमा राख्न बाध्य भइन् । सुरुमा अलिअलि मात्रै जिउ हल्लाएर नाचेजस्तो गरिरहेकी लुसी एक छिनपछि भने मज्जाले नाच्न थालिन् । सबैजना आ–आफ्नै तालमा नाचिरहेका थिए । नाच्दानाच्दै लुसी बेलाबेलामा जेरौल्डको नजिकै पुग्थिन्, घरीघरी उनीहरूको आँखा पनि ठोक्किरहेको हुन्थ्यो । नाच सकिएपछि सबैजना आ–आफ्नो ठाउँमा गएर बसे । जेरौल्ड भने लुसीको छेउमै गएर बसिदिए । एक छिनपछि एक हुल युवतीहरू आएर गोलो परेर नाच्न थाले ।
यसरी जेरौल्डले लाठी नाच र झमटाको कुरा गरिरहँदा मलाई त्यो बरदुबईको शान्त बियर बारमा पनि थारूगीत बजिरहेको जस्तो लाग्यो । कतै नेपथ्यबाट थारूगीतको आवाज आइरहेजस्तो भान भयो— “माटी कोरे गैली रे, ओहे मट गरवा हो ना.... !”
चार अक्टोबर, शनिबारको बिहान ब्रेकफास्ट गरेपछि जेरौल्ड होटेलबाट निस्किए । अघिल्लो रात लुसीसँग नाचेको झल्कोले नै उनी आनन्दित भइरहेका थिए । बाहिर हल्का कुहिरो लागिरहेको थियो भने कुहिरोको पर्दालाई छिचोल्दै घामको मधुरो प्रकाश पनि धर्तीमा पोखिँदै थियो । केहीबेर सौराहा बजारमा एक्लै टहलिएर जेरौल्ड राप्ती नदीको किनारतिर लागे । उनको अघि अघि माउतेको आदेश शिरोधार्य गर्दै एउटा हात्ती पनि किनारतिर जाँदै थियो । राप्ती किनारमा खरले छाएका स–साना कटेजहरू देखिए । ती कटेजहरूको छेउ हुँदै उनी पूर्वतिर हिँडिरहेका थिए । अलि अगाडि पुगेपछि उनले लुसीलाई राप्तीको किनारमा बसिरहेको देखे । लुसीसँग अल्बेर्टा पनि बसेकी थिइन् ।
“गुटन मर्गन डी डामन ।” जेरौल्ड उनीहरूको नजिकै पुगेर अभिवादन गर्दै लुसीको छेउतिर गएर बसे ।
बस्दै गर्दा उनले एकपटक लुसीलाई नियाले । लुसीमा केही परिवर्तन आएको थियो । उनी केही सहज देखिएकी थिइन् । लुसीको त्यो सहजतालाई आफ्नो पक्षमा पार्ने विचार गरेर जेरौल्डले धक नमानीकन अल्बेर्टातिर हेरेर भने— “अल्बेर्टा, म लुसीसँग एकान्तमा कुरा गर्न चाहन्छु ।”
जेरौल्डको कुरा सुनेर अल्बेर्टाले उठेर मुस्कुराउँदै भनिन्— “अवश्य !”
लुसीले कुनै प्रतिक्रिया जनाइनन् ।
राप्तीपारि आँखा डुलाइरहेकी लुसीलाई हेर्दै जेरौल्डले भने— “तिमीलाई याद छ लुसी, स्कुल हापेर हाफेन पार्कमा बस्दै मेइन नदीको पानीलाई हामी यसरी नै हेथ्र्यौं । घण्टाँै बितेको पत्तै पाउँदैनथ्यौँ ।”
जेरौल्डको अनुहारमा एक झिमिक्क आँखा पु¥याएर लुसीले जवाफ फर्काइन्— “मलाई त लागेको थियो, तिमीले ती दिनहरू बिर्सिसक्यौ !”
“कसरी बिर्सिन सकुँला र, ती अवस्मरणीय दिनहरू ! लुसी, के तिमीलाई याद छ हामीले पहिलोपटक एकअर्कालाई चुम्बन गरेको ?”
“फ्¥यान्कफर्ट चिडिया घरअगाडिको सबवेमा तिमीले जबर्जस्ती किस गरेका थियौ ।”
लुसी केही सहज भएर बोलिरहेकी थिइन्, त्यही मौकामा जेरौल्ड स्मृतिका पाना पल्टाउँदै गए— “त्यो पामेन गार्डेनमा अर्किडको रूखमुनि रातो कमिलाले तिम्रो नाइटोनजिक टोकेको याद छ ?”
“कमिलाले टोकेको भन्दा पनि तिमीले त्यही बहानामा मेरो नाइटो वरिपरि गरेको स्पर्शले अझै पनि काउकुती लगाउँछ । बोनेम्स पछाडिको फाँट भएर जाने ट्रेनको लिक पनि धेरै याद आउँछ । के तिमीलाई याद छ जेरौल्ड, तिमीले कसरी त्यो लिकमा बसेर मलाई ब्ल्याकमेल गर्दै आफ्नो लभ पर्पोज एक्सेप्ट गर्न लगाएका थियौ ?”
जेरौल्डले मुस्कुराउँदै भने— “त्यति नगरेको भए त तिमीले मेरो पर्पोज एक्सेप्ट नै नगर्ने रहिछ्यौ नि !”
“सही कुरा भन्यौ, म कत्ति सोझी थिएँ ! कतै तिमीलाई ट्रेनले कुल्ची पो हाल्छ कि भनेर तिम्रो पर्पोज एक्सेप्ट गरँे । त्यो नै हाम्रो स्कुलको अन्तिम वर्ष थियो ।” मोर्गन अल्बेर्टाको प्रेम भने स्कुल सकिएपछि मात्र सुरु भएको थियो ।
लुसी सहज हुँदै जान थालेकी थिइन् । जेरौल्ड त्यो सिलसिला चालु राखेर लुसीलाई मनाउन लागिपरेका थिए । त्यतिखेरै जेडी उनीहरूलाई खोज्दै आइपुगे र हात्ती सवारका लागि लिएर गए ।
हात्तीको उचाइजत्तिकै अग्लो काठले बनेको टाँडमा उक्लिएर जेरौल्ड, लुसी, अल्बेर्टा र मोर्गन एउटा हात्तीमा चढे । हात्तीको एकातिर खुट्टा झारेर अल्बेर्टा र मोर्गन बसे भने अर्कोतिर खुट्टा झारेर जेरौल्ड र लुसी बसे । हात्ती बिस्तारै लचकलचक गर्दै राप्तीतिर हिँड्यो । हिँउद याम भएकाले राप्ती नदी सुकेर सानो भएको थियो । आफ्ना मोटा र बलिया खुट्टाहरूले पानीलाई स्वारस्बार पार्दै राप्ती नदी पार गरेर हात्ती वनभित्र घुस्यो । माउते दाइले पहिले नै ठूलो स्वरले हल्ला नगर्न अनुरोध गरिसकेकाले पनि हात्तीमा सवार चारैजना बिस्तारै कुरा गरिरहेका थिए । एकछिनसम्म चारै जनाबीच तत्कालीन परिदृश्यमा संयुक्त संवाद चले पनि केही बेरपछि त्यो संवाद दुई पक्षमा बाँडिएर आ–आफ्नो हिसाबले चल्न थाल्यो । अल्बेर्टा र मोर्गन क्यामेराले फोटो र भिडियो खिच्दै आफ्नै दुनियाँको गफ गर्न थालेपछि जेरौल्ड र लुसीबीच पनि अनुकूल वातावरण सृजना हुँदै गयो । हात्तीको लचकलचक हिँडाइमा लच्किँदै रूख र बुट्यानहरू पार गरिरहँदा जब एउटा गैँडा अगाडि देखियो तब लुसी खुसी भइन् । उनले आफ्नो क्यामेराले त्यो चर्दै गरेको गैँडाको तस्वीर निकालिन् र जेरौल्डलाई पनि देखाइन् । केही अगाडि पुगेपछि अर्को सानो खोला देखियो । माउते दाइले भने— “यो खोलाको नाम खगेरी हो ।”
खगेरी खोलाको किनारमा एक हुल मृग मसिनो र बाक्लो गरी उम्रिएको घाँसमा चरिरहेका थिए । हात्तीलाई देखेर ती मृगहरूले कान ठाडो पारेर पल्याकपुलुक हेर्न थाले । लुसीले क्यामेरामा ती मृगहरूलाई कैद गरिन् र जेरौल्डलाई देखाउँदै भनिन्— “हेर न कति राम्रा देखिएका छन् यी मृगहरू ।”
“हो लुसी, अझ एउटा त साहै्र राम्रो रहेछ । यो दुनियाँकै राम्रो मृग हुनुपर्छ !”
“कुनचाहिँ ?”
“उम्म्म्, त्यो मृग यतिखेर हात्तीमाथि चढेको छ है ! अनि मेरै छेउमा बसेको छ ।”
जेरौल्डको कुरा सुनेर लुसी बेस्सरी खित्का छोडेर हाँसिन् । उनको हाँसो सुनेर चरिरहेका मृगहरू दौडिएर भागे । माउते दाइले पनि पुनः बिस्तारै कुरा गर्न अनुरोध गरे । लुसी जोडको हाँसो रोकेर जेरौल्डलाई हेरेर मुसुक्क मुस्कुराइन् । सायद उनलाई जेरौल्डको उपमा साह्रै मीठो लाग्यो !
हात्ती भित्री वनमा घुस्दै थियो । बाक्ला बुट्यानहरू पार गरेर हिँडिरहेको बेलामा केही अगाडि सफारी जिप हिँड्ने बाटोको छेउबाट जोडले बाघ कराएको आवाज आयो । त्यो बाघको गर्जन यति ठूलो सुनिएको थियो कि लुसीले डराउँदै जेरौल्डको हात च्याप्प समातिन् र रातीगेडीजस्तो अनुहारले जेरौल्डलाई हेर्न थालिन् । एकपटक मात्रै आएको त्यो बाघको गर्जनसँगै कुनै जङ्गली सुँगुर च्वाँच्वाँ गरेको आवाज पनि आयो । माउते दाइले हात्तीलाई बिस्तारै त्यतै लिएर गए । अगाडि एउटा बाघले बाटो छेउमा एउटा बँदेललाई उत्तानो पारेर उसको गर्दनमा मुख गाडिरहेको थियो । बँदेल बाघको मुखबाट फुस्किने प्रयत्न गरिरहेको थियो । त्यसैले त्यो जोडले चिच्याएको रहेछ । लुसीले त्यो दृश्य हेर्न सकिनन् अनि आफ्नो मुख जेरौल्डको कुमतिर फर्काएर आँखा चिम्म गरिन् । लगभग दुई मिनेटसम्म बाघले बँदेलको गर्दन समातिरह्यो । अन्त्यमा जिन्दगीसँग हारेर बँदेलले आफ्ना खुट्टा तन्कायो । बँदेललेको सास गएपछि बाघले एकपटक आफ्नो मुख उसको गर्दनबाट हटाएर हात्तीतिर हे¥यो । त्यसपछि त्यो बाघले बँदेललाई मुखमा च्यापेर घिसार्दै वनभित्र लग्यो । बाघ गइसकेपछि जेरौल्डले लुसीलाई आँखा खोल्न लगाए । लुसीले जब आँखा खोलिन्, उनका आँखा आँसुले भिजेका थिए । हात्ती सवारीबाट फर्किएर सौराहा पुग्दासम्म पनि लुसी हाँस्न सकेकी थिइनन् ।
तीन बजेतिर हात्ती नुहाउने क्रममा लुसीलाई हात्तीको सुँडले फालेको पानीको फोहोरामा भिज्दै गरेको देख्दा जेरौल्डलाई भित्रभित्रै एक किसिमको बेग्लै आनन्द आइरहेको थियो । लुसी त्यतिबेला पनि उत्तिकै जवान र उत्तिकै आकर्षक थिइन् । पानीले भिजाएर निथ्रुक्क पारेको लुसीको शरीरले जेरौल्डलाई सुख्खा बनायो । पानीमा खेली रहेको हात्तीलाई माउते दाइले पानीमा सुत्न लगाएको दृश्य बडो आनन्ददायक थियो । जेरौल्डले यो कुरा दोहो¥याई–तेहे¥याई गरेका थिए । हात्ती बिस्तारै पानीमा पल्टिएर सुत्न लाग्दा उसको ढाडमा बसिरहेका लुसी र जेरौल्ड झ्याम्म पानीमा खसेका थिए । पानीमा खस्दा लुसीले जेरौल्डलाई च्याप्प समातेर अँगालोमा कसेकी थिइन् । त्यतिबेला लुसी जेरौल्डको आँखामा हेरेर लजाएकी थिइन् । एक छिनपछि हात्तीको ठूलो कानलाई पानीले भिजाउँदै लुसी एलिफेन्ट बाथको आनन्द उठाउन थालिन् । जेरौल्ड पनि लुसीको नजिकै गएर हात्तीको सुँड मुसार्दै पानीले भिजाउँदै गर्न थाले । सुँड मुसार्दामुसार्दै जेरौल्डले एकपटक लुसीलाई पनि पानी छ्यापिदिए । लुसी उत्तेजित हुँदै हाँसिन् र पानी छ्यापेरै बदला लिइन् । लुसीले पानी छ्यापेपछि मात्र पानीमा डुबिरहेका जेरौल्डलाई आफू भिजेजस्तो लाग्यो । भित्रैबाट भिजेको महसुस गर्दै लुसीलाई हेरिरहेका जेरौल्डको अनुहार एकाएक मलिन हुँदै गयो । लुसीले पनि उनलाई हेरिरहेकी थिइन् । जेरौल्डको नाकको पोरो हल्लिन थाल्यो, उनको मुख थोरै खुल्यो, उनका आँखा चिम्सा भए र अन्तमा उनले ठूलो आवाजमा हाछ्यूँ गरे । उनको हाछ्यूँको आवाजमा एकपटक हात्तीले पनि ङुर्र ग¥यो ।
साँझ होटेलकै बारमा बसेर सुँकसुँक गर्दै जेरौल्ड बियर पिउँदै थिए, लुसी पनि हातमा वाइनको गिलास बोकेर आइपुगिन् । छेउमै आएर उनले भनिन्— “आफ्नो स्वास्थको बारेमा तिमी अझै पनि ख्याल गर्दैनौ ?”
जेरौल्डले थोरै हाँस्दै जवाफ दिए— “यो नाथे रुघाले केही गर्दैन, ठीक भैहाल्छ नि !”
“बियर नै किन ? रुघा लागेको छ भन्ने थाहा त छ तिमीलाई, अरू पिउँदा हुँदैनथ्यो ?”
गिलासमा रहेको बियरको एक चुस्की लिँदै जेरौल्डले भने— “यसैलाई तताएर पिऊँ कि क्या हो !”
“कत्ति मन पर्छ है तिमीलाई बियर !”
जेरौल्डले भावुक हुँदै भने— “साह्रै मन पर्छ तर तिमीलाई एउटा कुरा थाहा रहेनछ, मलाई यो बियरभन्दा हजारौँ गुणा बढी तिमी मन पछ्र्यौ, लुसी !”
जेरौल्डको इमोसनल जवाफ सुनेर लुसी नाजवाफ भइन् । उनले जेरौल्डको आँखामा गहिरो गरी हेरिन् । निकैबेर हेरिन् अनि मौनतालाई तोड्दै भनिन्— “हामी जब छुट्टियाँै त्यसपछि म म्युनिख गएँ । मैले सुरुका दिनमा तिमीलाई धेरै नै याद गरेँ । सानैदेखि मलाई तिम्रो नजिक रहने आदत परिसकेकाले होला मलाई तिमीसँग छुट्टिएर एक्लै बस्नुपर्दा अत्यन्तै कष्टबोध भयो । मलाई आवेगमा आएर लिएको निर्णयले जिन्दगीभरि तड्पाउँछ भन्ने लागिरह्यो । स्कुलबाट पढाएर फर्किएपछि म कतै जाँदिनथेँ, कोठामा एक्लै समय बिताउथेँ । म धेरैपटक डाँको छोडेर रोएकी छु । कहिलेकाहीँ त फोन गरेर तिमीसँग कुरा गरौँजस्तो लाग्थ्यो तर तिम्रो फोन कुरिरहेकी हुन्थेँ । न त मैले तिमीलाई फोन गर्ने हिम्मत नै गर्न सकेँ न त तिम्रो फोन आयो ।
हाम्रो त्यस्तो लामो र गहिरो सम्बन्ध विवाहपछि एक्कासि कमजोर भएर सकिएला भन्ने मैले कहिल्यै सोचेकी थिइनँ । तिमी विवाहपछि धेरै नै परिवर्तन भयौ, विवाहअघि तिमीलाई मेरो सबै कुराको ख्याल हुन्थ्यो । मेरा आँखामा हेरेर तिमी भावना बुझ्थ्यौ, मेरो छातीमा कान राखेर धड्कनको कुरा सुन्थ्यौ । हो, तिमी थोरै जिद्दी त पहिलेबाट नै थियौ तर त्यो जिद्दीपनभित्र पनि मप्रतिको माया झल्किरहेको हुन्थ्यो तर पछिल्ला दिनहरूमा तिमीमा धेरै बदलाव आयो । तिमी आफ्नो क्यारियरको पछि मात्र कुद्न थाल्यौ, हप्तादिनसम्म पनि मेरो हाल खबर सोध्न भ्याएनौ, सा–साना कुरामा चिढिन थाल्यौ, झनक्क रिसाउन थाल्यौ । मेरो काम कस्तो चलिरहेको छ ? मलाई सञ्चो छ या छैन ? केही मद्दत गरौँ भन्ने कुरा त सोच्नै छाड्यौ । तिमीमा टप क्लासको सेफ बन्ने भूत सवार भयो । त्यो भूतले तिमीलाई धेरै परिवर्तन गरिदियो । मेरा झिनामसिना कुराहरूको समेत ख्याल गर्ने तिमी, बिहेपछि धेरै कुरा भुल्दै गयौ । तिमीलाई त्यो दिन याद पनि छ जेरौल्ड, जुन दिन बियरको नशामा धूत भएर मलाई हात उठाएका थियौ नि, त्यो दिन मेरो जन्मदिन थियो ।
काम, मात्र काम । क्यारियर, मात्र क्यारियर । तिमी हातमुख धोएर लाग्यौ । म्युनिख गएपछि मलाई बारम्बार बिहेअघिको जेरौल्डको यादले सताइरह्यो तर तिमी अर्कै भइसकेको थियौ त्यसैले फिर्न सकिनँ । सुरुसुरुमा म धेरै पछुताएँ, तिमीलाई सम्झाउनुपथ्र्याे भन्ने पनि लाग्यो तर तिमी सम्झिनेवाला थिएनौ । बिस्तारै समयले सबै कुरा ठीक गरिदियो । भन्छन् नि, दुनियाँमा सबैभन्दा भरपर्दो औषधी केही छ भने त्यो समय हो । समयको रफ्तारसँगै बिस्तारै तिम्रो यादमा पनि कमी आउन थाल्यो । तिमीले पनि कहिल्यै खोजेनौ । यद्यपि त्यो स्वाभाविक पनि थियो । गन्तव्य नै फरक बनिसकेपछि अर्को बाटोमा हिँडेको बटुवालाई बोलाउनुको के अर्थ रहन्छ र !”
“हे गाइज, सरी ! हलुवामा बालुवा हुन आएँ ।” लुसी बोलिरहेकी थिइन् बीचमा अल्बेर्टाको उपस्थिति भयो ।
एक छिनपछि मोर्गन र अरू सबै साथीहरू पनि बारमा पसे । सबैजना एक ठाउँमा जम्मा भए । जेरौल्ड र लुसी पनि कुर्सीबाट उठेर साथीहरूसँगै उभिए । केहीबेरमा मोर्गनले अल्बेर्टाको हात समातेर सबैलाई सम्बोधन गर्दै भन्यो— “साथी हो, हामीलाई थाहा नै छ कि टुरको सेड्युल चेन्ज भएका कारण पन्ध्र अक्टोबर यानेकि अल्बेर्टाको जन्मदिन एभरेस्ट भ्यू हेर्दै मनाउन नपाइने भयो, त्यसैले बर्लिनको मेरो अपार्टमेन्टमा १५ तारिखमा सबैलाई उपस्थित हुन अनुरोध गरिन्छ । त्यो दिन सबैको उपस्थिति यसकारण पनि महŒवपूर्ण छ कि अल्बेर्टाको जन्मदिनको दिन हामी वैवाहिक बन्धनमा बाँधिदै छौँ । यो निर्णय हामीले आजै लिएका हौँ । आज हामी निकै नै खुसी छौँ । हामी यसलाई सेलिब्रेट गर्न चाहन्छाँै । यही खुसीको नाम, आज एक–एक जाम !”
मोर्गनको कुरा सुनेर सबैले एकपटक खुसी व्यक्त गर्दै ताली बजाए । मोर्गन र अल्बेर्टाले एकअर्कालाई चुम्बन गरे र एउटा स्याम्पियनको बोतल फोडे । त्यो रात सेलिब्रेसनको रात बन्यो । बारमा भएको नेपाली डिजे मिक्स गीतहरूमा उनीहरू खुब नाचे । नाच्नका लागि गीत बुझिरहनु नपर्ने रहेछ, बस् जिउ हल्लाउन मिल्ने कुनै म्युजिक बजे पुग्ने रहेछ । राति अबेरसम्म नाचगान चलिरह्यो ।
भोलिपल्ट बिहान एउटा माइक्रो हायस त्यो टोली र तिनका सबै सामान बोकेर पोखरा हिँड्यो ।
लेकसाइडको एउटा होटलमा पुगेर फ्रेस भएपछि जेरौल्ड र लुसी फेवा तालको किनारातिर लागे । घाम एकदमै मधुरो भएर पश्चिममा ढल्किँदै थियो । मौसम चिसो थियो । लुसीले सौराहामा किनेको गुलाबी रङको पस्मिनाको पछ्यौरी ओढेकी थिइन् । जेरौल्डले आकाशी रङको पातलो स्वेटर लगाएका थिए । उनी नाक सँुकसँुक पार्दै थिए । तालको किनारामा टहलिँदै गर्दा लुसीले जेरौल्डलाई सोधिन्— “अनि बताऊ, कसरी बितिरहेको छ तिम्रो समय ?”
“खै के बताऊँ लुसी, म आफैँलाई थाहा छैन । तिमीसँग डिभोर्स भएको केही समयसम्म, मलाई एक प्रकारले भन्ने हो भने ठीकै पनि लागेको थियो । दिनदिनैका तिम्रा स–साना किचकिचहरूबाट म मुक्त भएको थिएँ । म जे गरूँ ! मलाई रोक्ने कोही थिएन ।
– यो कपडा यहाँ नराख,
– जुत्ता ¥याकमा राखिहाल,
– सोफामा पप कर्न नपोख,
– बियर धेरै भयो,
– टीभीको भोलुम कम गर,
– ड्युटी जानुअघि बालकोनीको गमलामा पानी हालेर जाऊ,
– म बिजी छु, ड्रायरको तन्ना लगेर बिस्तरामा मिलाऊ,
– जाऊ त त्यो फोहोर लगेर बाहिर कम्पोस्ट बिन्मा हाल,
– जे नगर भन्यो त्यही किन गर्छौ ?
– भर्खर पोचा लगाएको छु, एकछिन यता नआऊ !
यस्ता आदेशबाट म मुक्त भएको थिएँ । यद्यपि तिमीसँग छुट्टिनुको दुःख त थियो नै तर पनि थाहा छैन किन हो किन मलाई तिमी गएपछिको केही समय आफू स्वतन्त्र भएजस्तो भान भएको थियो । समय बित्दै जाँदा मलाई त्यो स्वतन्त्रता फिकाफिका लाग्दै जान थाल्यो । कामबाट फर्किएर म आफ्नो खुसीले बसेर बियर पिउथेँ र मन परेको टिभी शो मन लागेको जति ठूलो आवाजमा सुन्थेँ पनि तर ती दैनिकीहरू दोहोरिएर समयसँगै आइरहँदा मलाई तिम्रो अभाव खड्किन थाल्यो । मैले त्यतिखेर महसुस गरेँ, तिमी पनि मेरो दैनिकीमै पर्दी रैछ्यौ । तिमीले घरमा कति धेरै काम गरिरहेकी हँुदी रैछ्यौ, जसलाई मैले कहिल्यै कामको श्रेणीमै राखेको रहेनछु । हप्तौँसम्म घर सफा नगरेर फोहोर भइरहेकोे हुन्थ्यो, मसँग टिभी हेर्ने समय त थियो तर घरमा भ्याकुम गर्ने जाँगर थिएन । गार्बेज बिन् भरिएर गन्ध आउन थालिसकेको हुन्थ्यो । बिजुली र पानीको लाइन काटिँदा मात्रै थाहा हुन्थ्यो कि बिल तिर्न बिर्सिएछु ।
समय बित्दै जाँदा मलाई तिम्रो अभाव खड्किँदै जान थाल्यो । सबैभन्दा ठूलो अभाव त मलाई तिम्रो मायाको खड्किन थाल्यो । बिहेपछि तिमीले आफ्नो पढाइसँगै पढाउन पनि सुरु गरेकी थियौ । घरको काम पनि सबै भ्याउँथ्यौ । म भने तिम्रो व्यस्तालाई बेवास्ता गर्दाे रहेछु । यी सब कुराहरूको महसुस हुँदा धेरै ढिलो भइसकेकोे थियो । तिमी म्युनिख गैसकेकी थियौ । तिम्रो खोजी गर्ने सोच बनाएर घरबाट निस्किन्थेँ म तर काममै व्यस्त हुन्थेँ । फेरि घर आएपछि महसुस हुन्थ्यो । धेरै कोसिस गरेँ तर तिमीलाई खोज्न म्युनिख पुग्ने हिम्मत आएन । तिमीलाई फोन गर्ने सोच पनि आइरहन्थ्यो तर मसँग हिम्मत थिएन फोन गरेर बोल्ने । म बियर र कामसँगै रमाउन थालेँ । जब यो ट्रिपको कुरा चल्यो अनि तिमी पनि आउने भन्ने थाहा पाएँ मलाई लाग्यो, समयले एउटा मौका दिँदैछ । आज म त्यही मौकामा सारा कुरा खोल्दैछु ।”
जेरौल्डले मनको बह पोखिरहँदा लुसी केही गम्भीर देखिइन् । उनले एकपटक तालपारि डाँडामाथिको शान्ति स्तुपातिर हेरेर भनिन्— “जाऔँ जेरौल्ड, मलाई जाडो लाग्न थाल्यो ।”
भोलिपल्ट बिहानै सबैजना फेवातालमा बोटिङ गर्न निस्किए । फेवाताललाई हुस्सुको घुम्टोले छोपेको थियो । हातमा चियाको गिलास समातिरहेका जेडीले भने— “आज हुस्सु धेरै बाक्लो छ ।”
मोर्गनले थप्यो— “यही हुस्सुको मजा उठाउन त हो नि बिहानै बोटिङको प्लान गरेको ।”
सबैजना आइसकेका थिए । माछा मार्ने साना–साना डुङ्गाहरू किनारामा तयार थिए । मोर्गन र अल्बेर्टा एउटा डुङ्गामा बसे । अरूहरू पनि कोही जोडी मिलाएर त कोही एक्लाएक्लै डुङ्गामा चढ्न थाले । जेरौल्ड लुसीलाई हेर्दै थिए, लुसी आफँै जेरौल्ड चढेको डुङ्गामा चढिन् ।
बहनाले पानी खियाउँदा आएको छप्ल्याङछुप्लुङ आवाजबाहेक अरू केही सुनिएको थिएन, वातावरण सुनसान थियो । थोरै अगाडि पुगेपछि बाक्लो हुस्सुको पर्दा छिचोल्दै तालबाराही मन्दिर देखियो । मन्दिर परिसरमा केही मान्छेहरू सरसफाइ गरिरहेका थिए । मन्दिरलाई दाहिने पार्दै जेरौल्डको डुङ्गा शान्ति स्तुपातलको जङ्गलतिर गयो । डुङ्गा अगाडि बढ्दै जाँदा पछाडिको तालबाराही हुस्सुको पर्दामा लुक्दै गयो भने अगाडिको जङ्गल देखिँदै गयो । त्यो समयको दृश्य बेहद रोमाञ्चकारी थियो । घाम लाग्नुअघिको मधुरो उज्यालो, डम्म लागेको हुस्सुको पर्दा, तल पानीको दह, छेउमा सुनसान जङ्गल, आम्नेसाम्ने बसेर यात्रा गरिरहेका जेरौल्ड र लुसी । जेरौल्डको मन नै फुरुङ्ग भएको थियो । केहीबेर त्यो हुस्सुभित्र हराएर असीमित आनन्द लिएपछि बिस्तारै पूर्वबाट घामको उज्यालो बढ्न थाल्यो । घामका कलिला किरण हुस्सुरूपी चाँदीका रेशाहरूमा बिस्तारै चम्किन थालेका थिए । लुसीको मुहारमा पनि चमक आएको थियो । सायद त्यो तत्कालीन दृश्यले दिलाएको चमकता थियो । चिसोले ग्रसित जेरौल्ड भने बेलाबेलामा नाक पुछिरहेका हुन्थे । लुसीले नाक पुछिरहेका जेरौल्डलाई सोधिन्— “तिमीले हिजो ट्याब्लेट लिएनौ ?”
“लिएँ, अलि कम भएको छ हिजोको भन्दा ।”
ट्याब्लेट नलिए पनि उनले लिएँ नै भने । एक छिनपछि हत्केलाले तालको चिसो पनि खेलाउँदै लुसी बोलिन्— “जेरौल्ड ! एउटा कुरा सोध्छु, बताउँछौ ?”
“सोध न, के कुरा लुसी ?”
“के मसँग छुट्टिएपछि तिम्रो जिन्दगीमा कोही आयो ?”
लुसीको प्रश्नले जेरौल्ड एकछिन अकमक्क भए । फेरि लुसीले नै भनिन्— “भन्नैपर्छ भन्ने छैन, नभन्न पनि पाउँछौ ।”
“छैन लुसी, तिमी गएपछि मेरो जिन्दगीमा कोही आएको छैन । मैले त यस विषयमा सोच्न पनि भ्याइनँ । कामसँग नै मेरो लभ प¥यो ।” जेरौल्डले थोरै मुस्कान थपेर अन्तिमको वाक्य टुङ्ग्याए ।
फेरि दुवैजना मौन भए । केहीबेरको मौनतापछि लुसीले आफ्नो ज्याकेटको जिपर थोरैमाथि तानेर भनिन्— “मेरो जिन्दगीको दलिनमा भने कोही उभिइरहेको छ । ऊ भित्र आउने अनुमति मगिरहेको छ ।”
अकस्मात् लुसीको मुखबाट निस्किएको यो वाक्यले जेरौल्ड खङ्ग्रङ्ग भए । उनले चलाइरहेको बहना रोकियो, डुङ्गा पनि रोकिएर बिस्तारै ढुलपुल गर्न थाल्यो । लुसी भन्दै गइन्— “सुरुको छ महिना तिम्रो र मेरो सम्बन्धलाई लिएर म धेरै दुःखी भएँ । त्यसपछिको छ महिना आफूलाई सम्हालेर नयाँ जीवनको बारेमा सोच्न थालेँ । त्यतिबेलासम्म तिमी र तिम्रा यादहरू कम हुँदै जान थालेका थिए । यसै क्रममा एक दिन स्कुलमा नयाँ शिक्षकको आगमन भयो । उसको नाम लुइस हो । ऊ हेर्दा आकर्षक पनि छ । सुरुसुरुमा मैले ऊप्रति कुनै रूचि देखाएकी थिइनँ तर एउटै स्कुलमा पढाउने भएकाले हामी बिस्तारै घुलमिल हुँदै गयौँ । जब म लुइससँग घुलमिल हुँदै जान थालेँ, मलाई उसका आनीबानी र बोलिचाली राम्रो लाग्दै जान थाल्यो । ऊप्रति मेरो आकर्षण बढ्नुको एउटा कारण उसको आनीबानी मलाई तिम्रोजस्तै लाग्यो तर बिहेअघिको तिम्रोजस्तो । हामी चाँडै नै मिल्ने साथी भयौँ । एक दिन मैले उसलाई तिम्रो बारेमा पनि बताएँ । उसले मेरो पीडालाई महसुस ग¥यो । त्यस दिनदेखि ऊ झनै मेरो नजिक हुन थाल्यो ।
हामी नेपाल ट्रिपमा आउनुभन्दा दुई दिनअघि उसले मलाई पहिलोपटक डिनरका लागि बोलाएको थियो । डिनरमा उसले मलाई सीधै बिहेका लागि प्रपोज ग¥यो । लुइसले अचानक बिहेकै प्रस्ताव गर्ला भनेर मैले सोचेकी थिइनँ यद्यपि ऊ मलाई राम्रो लाग्थ्यो । बिहेपछि तिमीबाट हराएको मायालु जेरौल्डलाई सायद मैले लुइसभित्र देख्न थालेँकी थिएँ तर अचानक बिहेकै प्रस्ताव आउँदा भने मैले कुनै निर्णय लिन सकिनँ । मैले उसलाई आफू नेपाल घुम्न जान लागेको र फर्किएपछि यसबारेमा निर्णय गरेर जवाफ दिने कुरा बताएँ । उसले सहजै मेरो कुरा मान्यो । ऊ मेरो जवाफ पर्खिरहेको छ ।”
लुसीले आफ्ना कुरा सकुन्जेलसम्म जेरौल्ड घाइते भइसकेका थिए । उनको मनमा पलाएका आशाहरू हुस्सुभित्र हराउन थालेका थिए । जेरौल्डले एकपटक लुसीलाई हेरे । लुसीको अनुहार उनलाई झन्झन् प्यारो लाग्न थालेको थियो । उनलाई भन्न मन लागेको थियो— “लुसी, म पहिलेकै जेरौल्ड बनिसकेको छु । म तिमीलाई त्यसरी नै माया गर्न चाहन्छु, जसरी बिहेअघिका दिनहरूमा गर्थें ।” तर जेरौल्डले त्यसो भन्न सकेनन् । लुसीले बताइसकेकी थिइन् कि उनी पनि लुइसलाई चाहन थालेकी छिन् । जेरौल्डलाई त्यही कुराले रोक्यो । केही नबोलीकन जेरौल्डले बहना चलाउन थाले । डुङ्गा गह्रुङ्गो गरी किनारातिर आउँदै थियो ।
ब्रेकफास्ट गरेर टोली डेभिड फल्स जान तयार भयो । जेरौल्डलाई भने आफ्नो यात्रा फेवातालमै टुङिगएजस्तो लागिरहेको थियो । जेडीले सबैलाई जम्मा गरेर भने— “हिउँदमा पानी सानो हुन्छ, डेभिड फल्सको भरपुर मजा उठाउन पाइँदैन । बर्खामा ठूलो खोला गुफामा खसेर हराएको हेर्दा साह्रै मजा हुन्छ ।”
जेरौल्ड पनि नाक सुँक्कसुँक्क पार्दै जेडीको कुरा सुनिरहेका थिए । त्यसपछि उनीहरू सराङकोटको डाँडोतिर गए । हुस्सु लगभग निख्रिसकेको थियो भने घाम मधुरो लागि रहेको थियो । सुन्दर नगरी पोखराको शिरमा टलक्क टल्किएको अन्नपूर्ण र माछापुछ«ेले सबैको मन मोहित पारिदियो । जेडीले जेरौल्डको छेउमा उभिएर भने— “हामी भाग्यमानी रहेछौँ, आज हिमाल छर्लङ्ग देखिएको छ ।”
“मेरो भाग्य त लुसीलाई जिन्दगीमा फिर्ता ल्याउनुमा भेटिने थियो तर के गर्नु सबै सकियो ।” यो जवाफ जेरौल्डले मनमनै खेलाए तर फर्काएनन् ।
दिउँसो बाटोमै लन्च गरेर उनीहरू सीधै गुफातिर लागे । बाटोमा केआई सिंह पुलको छेउबाट तल झरेर भासिएको सेती नदीको दृश्यावलोकन गरेर उनीहरू महेन्द्र गुफातिर लागे । त्यसपछि चमेरे गुफा गए । चमेरे गुफाभित्र भित्तामा झुण्डिएका चमेराहरूलाई लुसी र जेरौल्डले सँगै बसेर हेरे । गुफाबाट निस्कने बेलामा साँघुरो घाँटीजस्तो बाटो भएर थोरै उकालो हिँड्नुपथ्र्यो । साँघुरो र अप्ठ्यारो बाटो उक्लिँदै गर्दा अघिअघि हिँडिरहेकी लुसी चिप्लिएर तल झरिन्, उनलाई जेरौल्डले च्याप्पै समाते । जेरौल्ड भित्तामा ठोकिए भने लुसी उनको छातीमा टाँसिइन् । धेरैपछि उनीहरू बीचमा दुरी रहेन । निस्कने बेलामा गुफाको टुप्पोबाट आएको थोरै उज्यालोमा उनीहरूले एकअर्कालाई नजिकैबाट हेरे । उनीहरूले फेरिरहेको तातो सास एकअर्काको अनुहारमा ठोक्किरहेको थियो । जेरौल्डलाई एकाएक खै के भयो ! उनले लुसीको ओठमा चुम्बन गर्ने कोसिस गरे । लुसीले केही अप्ठ्यारो मानिन् तर जेरौल्ड रोकिएनन् । केही बल प्रयोग गरेरै उनले लुसीलाई चुमिदिए । लुसीले सायद त्यो अपेक्षा गरेकी थिइनन्, उनले जेरौल्डलाई केही पर धकेलिदिइन् । उनको अनुहारमा केही रिस झल्किएको थियो । उनी केही नबोली गुफाबाट निस्किइन् ।
साँझ होटेल फर्किएपछि जेरौल्डले लुसीसँग माफी माग्दै भने— “मलाई माफ गर लुसी, मैले तिमी डिभोर्स भैसकेकी मेरी पूर्वपत्नी हौ भन्ने नै बिर्सिएछु ।”
जेरौल्डका कुरा सुनेर लुसीले भनिन्— “ठीकै छ, केही छैन ।”
त्यो रात उनीहरूबीच अरू कुराकानी भएन ।
दुई दिनपछि लुक्ला जाने कार्यक्रम तय भएको हुनाले अर्काे दिन बिहान टोली काठमाडौँ फर्कियो ।
***
सात अक्टोबर साँझ पाँच बजे सुनधाराको होटेलमा पुगेर केही समय विश्राम गरेपछि साथीहरू रानीपोखरी हुँदै ठमेलतिर घुम्न निस्कए भने जेरौल्ड र लुसी धरहरातिर लागे । आठ डलरमा दुई टिकेट लिएर उनीहरू घुमाउरो सिँढी हुँदै धरहरा चढे । जेरौल्डलाई रुघाले ग्रसित पारिसकेको थियो । उनको टाउको र आँखाको भित्री भाग पनि दुखेको थियो । उनी सिरक ओढेर सुत्न चाहन्थे तर लुसीको आग्रहलाई नकार्न सकेनन् । एकछिन मधुरो हुँदै गएको काठमाडौँको वातावरण नियालेपछि बलकोनीको रेलिङलाई दुवै हातले चरप्प समातेर लुसीतिर हेर्दै जेरौल्डले सोधे— “त्यसो भए लुइसको बारेमा तिमीले के फैसला गर्ने निर्णय ग¥यौ त ?”
अचानक त्यस्तो प्रश्न सुनेर लुसीले आफूलाई थोरै सतर्क गरेर भनिन्— “निर्णय अझै पनि गरिसकेकी छुइनँ । ऊ असल छ । राम्रो पनि छ । बानी–व्यवहार पनि राम्रो छ । मलाई माया पनि गर्छ तर पनि मलाई उसमा केही नपुगे–नपुगेजस्तो लागिरहेछ । फेरि सोच्छु, सबै मानिसमा केही न केहीको अभाव त हुन्छ नै ।”
लुसीको कुरा नसकिँदै जेरौल्ड गम्भीर भइसकेका थिए । आफूलाई सम्हालेर उनले भने— “लुसी, मलाई थाहा छैन, तिम्रा यी सब कुराहरू सुनिसकेपछि पनि मैले यसरी कुरा गर्नु उपयुक्त हुन्छ या हुँदैन ? तर पनि म भन्न चाहन्छु, तिमीसँग डिभोर्स भएपछि फेरि मलाई तिमीसँगै प्रेम भएको छ । तिमी गएपछि प्रेमकै अभावमा मैले प्रेम के हो भनेर बुझेँ । तिम्रो अभावले मलाई ठूलो पाठ सिकायो । म बिहेपछि बदलिएकै रहेछु, फेरि तिमी गएपछि बदलिएको छु । यतिखेर म तिम्रो पुरानै जेरौल्ड हुँदैछु । के हामी दुईको बाटो कुनै मोडमा फेरि मिलेर एक हुन सक्ला ?”
जेरौल्डको कुरा सुनेपछि लुसीले भनिन्— “जेरौल्ड, सायद अब सबै ढिला भइसक्यो ! मैले यसबारेमा केही सोचेकी छुइनँ ।”
“तर पनि लुसी... !”
“भैगो जेरौल्ड, यो विषयलाई धेरै नतन्काएकै राम्रो !”
लुसीको कुराले जेरौल्डलाई दुःखी बनायो । टाउको र आँखाको गेडी दुखिरहेको बेलामा जेरौल्डको मन पनि नमज्जाले दुख्यो । उनलाई धरहरामा उभिइरहन मन लागेन । उनी केही नबोली सिँढीबाट तल झर्न लागे ।
“किन यति चाँडै झर्न थालेको ?”
लुसीले आश्चर्य प्रकट गरेजस्तो गरिन् । यद्यपि उनलाई थाहा थियो कि उनको कुराले जेरौल्डको चित्त दुखेको छ । जेरौल्ड चुपचाप सिँढी झर्न थाले । लुसी पनि उनलाई पछ्याउँदै झरिन् । अलि तल पुगेपछि सायद दुखेको मन फुलाउने कोसिस गर्दागर्दै जेरौल्डको आँखा धमिलियो अनि गोडा लड्खडाए, उनले सिँढीको एउटा खुड्किलो टेक्नै भुलेछन् । उनी लडे । उनको टाउको भित्तामा बजारियो । लुसी आत्तिँदै आइन् र अरूको मद्दत लिएर उनलाई नजिकैको अस्पताल पु¥याइन् । उनको दायाँ खुट्टो मर्किएछ अनि टाउकोमा पनि सामान्य चोट लागेछ ।
साँझ खाना बोकेर लुसी जेरौल्डको कोठामा पुगिन् । सिरानी आड लगाएर बसिरहेका जेरौल्डलाई दालको तातो सुप दिँदै लुसीले भनिन्— “सायद तिमी भोलि हिँड्न सक्दैनौ ! के म पनि तिमीसँगै बसूँ ?
“खुट्टो मेरो मर्किएको हो लुसी, तिमी किन बस्छ्यौ ? सगरमाथा हेर्ने तिम्रो ठूलो इच्छा छ, तिमी जाऊ ।”
“तिमीलाई मद्दत चाहिएला कि भनेर नि !”
“मनै अपाङ्ग भइसकेकोे छ, खुट्टो जाबो के हो र ! हिँड्न नमिले पनि म म्यानेज गर्न सक्छु ।”
“फेरि गाह्रो पर्ला !”
“पर्दैन लुसी, बितेका दुई वर्षमा समयले मलाई धेरै कुरा सिकाएको छ । अब हाम्रो बाटै फरक भएपछि एकछिन देउरालीमा सँगै बसेर के गर्नु ? आखिर एक्लै न हिँड्नु पर्नेछ । मर्न त सक्दिनँ नै त्यसैले मलाई तिमीबिना जिउने बानी पार्नु छ । अब अरू कुनै विकल्प पनि त रहेन !”
जेरौल्डको कुरा सुनेर लुसी गम्भीर त भइन् तर पनि मौन नै रहिन् । जेरौल्डले फेरि भने— “लुसी, के साँच्चै नै ढिला भइसकेकोे हो त ? के आवेशमा आएर एउटा कागजमा गरेको हस्ताक्षरले मनको सम्बन्ध सहजै तोड्न सक्छ ? भनिन्छ नि, प्रेममा सबै कुराहरू क्षम्य हुन्छ, के डिभोर्स नामक हाम्रो कानुनी गल्तीलाई हाम्रो वर्षौं पुरानो आत्मीयताको जगमा उभिएको भावनात्मक प्रेमले क्षमा गर्न सक्दैन ? भन न लुसी ?”
लुसीले केही भनिनन् । उनले गिलासको मनतातो पानी र दुईवटा औषधीका चक्की जेरौल्डलाई दिइन् । जेरौल्डले औषधी खाँदै गर्दा पनि जवाफको अपेक्षा गरिरहे तर त्यस विषयमा लुसीले कुनै प्रतिक्रिया जनाइनन् । घडी हेरेर विषयान्तर गर्दै उनेले भनिन्— “जेरौल्ड म सुत्न जान्छु । लुक्लाका लागि हाम्रो भोलि बिहान ६ः५० को फ्लाइट छ ।”
आफ्नो प्रश्नको उत्तर नपाएपछि जेरौल्ड बेचैन भए तर उनले त्यो बेचैनीलाई दबाएरै भने— “ओके लुसी, गुड नाइट ।”
यति भनेर उनी सिरकले मुख छोपेर सुतिदिए । एक्कैछिनमा कोठाको बत्ती बन्द भयो । ढोका खुल्यो अनि फेरि बन्द भयो । लुसी निस्केर गइन् ।
***
आठ अक्टोबर बिहान होटेलको एक्स्टेन्सन बज्यो । फोनको घण्टीले चिसो मौसममा सिरकमुनि लुकिरहेका जेरौल्डको निन्द्रा बिथोलिदियो । भित्ताको घडीमा बिहानको ठीक छ बजेको थियो । जेरौल्डले सिरकबाट हात मात्र निकालेर मन नलागी–नलागी फोन उठाए— “हेल्लो !”
“सरी जेरौल्ड, तिमीलाई बिहानै डिस्टर्ब गर्ने त मन थिएन तर....”
फोनमा लुसीको आवाज आयो । जेरौल्डले निन्द्राकै तालमा सोधे— “तिमीहरू हिँडिसक्यौ ?”
“उम्, एयर्पाेट पुगिसक्यौँ ।”
“ए, ल ल आँखाभरि हेर्नु सगरमाथालाई, धित नमरुन्जेल !”
“सुन न जेरौल्ड !”
“भन न !”
“हुन त यो कुरा लुक्लाबाट फर्किएपछि मात्र भन्छु भन्ने सोचेकी थिएँ तर मनले पर्खिन मानेन ।”
“के कुरा हो र लुसी ?”
“मैले हिजो रातभरि धेरै सोचेँ । मनमा धेरै कुराहरू आए तर म अन्त्यमा एउटै निचोडमा पुगेँ ।”
“कस्तो निचोड ?”
“जेरौल्ड, के तिमीले आफ्नो अपार्टमेन्ट बेच्ने बारेमा केही सोचेका छौ ?”
“मतलब ! मैले कुरा बुझिनँ लुसी ।”
“डियर, अब सँगै बस्ने भएपछि दुईवटा अपार्टमेन्ट किन चाहियो ?”
“ओ माई गड ! डियर, साँच्चै हो ? कतै म सपनामा त छुइनँ ?”
“हो जेरौल्ड, तिमी विपनामै छौ । तिमीले ठीक भनेका रहेछौ, एउटा पेपरमा गरेको हस्ताक्षरले मनको सम्बन्ध र भावना तोड्न सक्दैन । डिभोर्स हाम्रो आवेगले गरेको गल्ती थियो । मेरो मनले त्यो गल्तीलाई गल्ती सम्झेर माफी गरिदियो । धेरैथोरै गल्ती हामी दुवैको थियो । प्रेममा भएका ती गल्तीहरू एकपटकका लागि क्षम्य भए । अब वाचा गरौँ, अर्कोपटक कुर्न गल्ती दोहोरिने छैन ।”
“वाचा भयो लुसी । तिमीलाई म कसरी भनौँ ! यतिखेर मेरो मनमा रङ्गीचङ्गी खुसीका फूलहरू फुलिरहेका छन् ।”
“भो भो, धेरै इमोसनल नहोऊ, फोनमै रोउला फेरि ! म लुक्लाबाट फर्किएपछि तिम्रो काखमा बसेर गनौँला, कति रङका कतिवटा फूल फुलेका रहेछन् ? अहिले फोन राखेँ, बोर्डिङको टाइम भयो ।”
“लुसी !”
“भन जेरौल्ड ।”
“इस लिबे डिस ।”
“इस लिबे डिस आओक, ए रुक रुक जेडीले कुरा गर्ने अरे !”
“हेल्लो जेडी ।”
“जेरौल्ड, बधाई छ ।”
“ओ, तिमीलाई पनि सबै थाहा भइसक्यो ?”
“सबैलाई थाहा भएको कुरा मलाई थाहा नहोला र ! हे हे हे... ।”
“ओके ओके, राम्ररी घुमाएर ल्याउनु ।”
“म जाँदै छुइनँ, हाम्रो लुक्लाकै गाइडले हेर्छ ।”
“हो र ?”
“हो, म दिउँसो होटेल आउँछु । केही चाहियो भने भन्नु । साँझ हजुरमाँलाई भेट्न जाँदैछु । भोलि दशैँको टिका थाप्नका लागि ।”
“ओके, एकचोटि लुसीलाई देऊ त !”
“लुसी भित्र छिरिसकिन् ।”
फोन राखिसक्दा पनि लुसीसँग भएको संवाद जेरौल्डलाई सपनैजस्तो लागिरहेको थियो । उनी यति खुसी थिए कि जुन खुसीको बयानै गर्न सक्दैनथे । बिस्तरामै पल्टिएर जेरौल्ड धेरै बेरसम्म लुसीलाई सम्झेर टोलाइरहे । टोलाउँदा–टोलाउँदै चिसो मौसममा न्यानो सिरकभित्र बसिरहेका जेरौल्डलाई अलि अघि छोडेको निन्द्राले फेरि समात्यो ।
जेरौल्ड गुमेको माया पाएकोमा आनन्दको गहिरो निन्द्रामा डुबिरहेका थिए । फेरि उनलाई फोनकै घण्टीले बिउँझायो । त्यतिबेला बिहानको आठ बजिसकेको थियो, जेरौल्डले फोन उठाए— “हेल्लो !”
“हेल्लो, जेरौल्ड !”
उताबाट जेडीको आवाज आयो । उसको आवाजमा रोदन भरिएको थियो । जेरौल्डले सोधे— “जेडी, के भयो तिमीलाई किन रोएको ?”
“जेरौल्ड !”
“भन न जेडी, म सुनिरहेको छु ।”
“जेरौल्ड, लुक्ला एयरपोर्टमा ल्यान्डिङ गर्ने क्रममा यती एयरलाइन्सको प्लेन क्र्यास भयो ।”
“के भन्दैछौ तिमी ?”
“हो जेरौल्ड !”
जेडीको रोदन जारी नै थियो, उसले भन्दै गयो— “दुईजना अष्ट्रेलियन पर्यटक र हाम्रो ग्रुपका बाह्रैजना कोही पनि बँचेनन् जेरौल्ड । एकजना पाइलटको मात्र जिवितै उद्धार भएको खबर आएको छ । हेल्लो, हेल्लो जेरौल्ड, के तिमी सुनिरहेका छौ ? हेल्लो.... !”
आँखा खुल्दा जेरौल्ड कुनै अस्पातलको बेडमा पल्टिरहेका थिए ।
त्यो रात बरदुबईको शान्त बारमा जेरौल्डले आफ्नो प्रेमको वियोगान्त कथा सक्दै गर्दा निकै अबेर भइसकेकोे थियो । मलाई बियरको नशा र जेरौल्डको कथा दुवै बेस्मारी चढेको थियो । ड्रिङ्कपछि ड्राइभ गर्ने त कुरै भएन, जेरौल्डलाई होटेलसम्म पैदल छोडेर म ट्याक्सीमा रसिदियाको आफ्नो कोठातिर लागेँ । त्यो रात मैले कोठामा पुगेर बेस्मारी उल्टी गरेँ । उल्टी गरेपछि बियरको नशा भने उत्रिँदै गयो तर जेरौल्डको कथा उत्रिएन, उत्रिँदै उत्रिएन । जुन आज आएर उत्रिएको छ ।