पुस्तक समीक्षा - अचानोमा दिल

दीपक आचार्य 'जलन'
- नेपाली गजल साहित्यमा २०५४ साल देखि साधनारत मध्यपश्चिमेली गजलकार । उनका सिर्जनाहरुमा बेग्लै पहिचान पनि रहँदै आएको छ । गजल, कविता, मुक्तक, कथा र हाइकु विधाका शिल्पी दीपकलाई नेपाली साहित्यका अन्य विधामा भन्दा पनि गजलमा अझै प्रखर रुपमा भेटाउन सकिन्छ । बर्दिया जिल्लाको शिवपुर - ५, बकुवामा जन्मेका गजलकार दीपक गजल लेख्ने मात्र हैन गजल लेख्न सिकाउने पनि गर्छन् ।
बर्दिया जिल्लामा गजलको संस्थागत विकास गर्ने उद्देश्यले २०६२ सालमा स्थापित संस्था 'मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान' को बर्दिया शाखाका संस्थापक अध्यक्ष समेत रहेका गजलकार जलनलाई उक्त क्षेत्रमा गजल लेख्ने वातावरण सिर्जना गर्ने पहलकर्ताको रुपमा पनि चिनिन्छ - जसले विभिन्न माध्यमबाट साहित्य र अझै साहित्यमा पनि गजल मार्फत बर्दिया जिल्लालाई साहित्यिक जिल्ला बनाउनमा ठूलो भूमिका निर्वाह गरेका छन् ।
hello hello
नेपाली साहित्यको बजारमा काव्यात्मक विधाका पुस्तकहरु छापिएको तुलनामा विक्री भने अन्य पुस्तकको तुलनामा अत्यन्तै न्युन रहेको बारे त हामी सबैलाई थाहै छ । अहिले आएर बजारमा साहित्यको स्वाद अलि फेरिएको छ । वातावरण अनुसार नै आफ्ना सिर्जनालाई पनि परिष्कार गर्दै अगाडि बढ्न सके बजार खोज्न धेरै पर जानुपर्दैन भन्ने खालको स्थिति सिर्जना गर्ने स्रष्टाहरुमै पर्छन् दीपक आचार्य 'जलन' ।
"अचानोमा दिल" दीपकको दोस्रो गजलसंग्रह हो । जसलाई 'बुलबुल पब्लिकेशन' ले प्रकाशन गरेको छ । यो संग्रहमा जम्माजम्मी ७२ वटा गजल राखिएका छन् । तर गजलको संरचना, स्वभाव र प्रकृतिका आधारमा हेर्ने हो भने उनले हरेक गजलमा फरकपन दिने कोसिस गरेका छन् । जसको माध्यमबाट उनले जीवनका भोगाई तथा अन्तरङ्ग सम्बन्धहरुका साथै वर्तमान समाजसँग संवेदनशील भएर बिम्बहरुमा शिल्पहरु मार्फत साक्षातकार गरेका छन् । यथार्थपरक गजलहरुको सङ्ग्रह भएकाले पनि यहाँ समेटिएका गजलहरुलाई बुझ्न अत्यन्तै सहज छ ।
जब गजल वाचनको कुरा आउँछ, तब मध्यपश्चिमाञ्चल क्षेत्रका गजलकारहरुको वाचनशैली नै पनि जीवन्त लाग्छ । यस्तैमा आफ्ना गजलहरुलाई लिएर वाचन गर्न बस्दा अत्यन्तै मिठास भर्न सक्ने कला समेत बोकेका गजलकार हुन् दीपक । यो पुस्तकमा पाँच देखि सात शेरसम्मका गजलहरु समाविष्ट छन् । जसलाई गजलकार स्वयमले अनुभव गरेका, देखेका लगायत विदेशी पृष्ठभूमि र स्वदेशी आफ्नोपनको सुगन्धलाई समेत प्रष्ट पारेका छन् ।
संरचनात्मक खुकुलोपन, लय संगतिमा लचकता भईकन पनि भाव र वैचारिक गहनता बोकेका कारण पनियो गजलसंग्रह "अचानोमा दिल" मध्यपश्चिम नेपालबाट उठेको र नेपाललाई अनि नेपालीलाई गजल मार्फत चिनाउने एक सुन्दर संग्रह बनेको छ । आफ्ना गजल सिर्जनाका साथै गजल लेख्ने विधि एवम् तरिका समेत पुस्तकको पुचार भागमा राखिदिनाले नवप्रवेशी गजलकारहरुलाई समेत राम्रो खुराकको रुपमा उपस्थित भएको छ दीपक आचार्य 'जलन' को गजलसंग्रह "अचानोमा दिल" ।